
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक अवस्था सहज नरहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारले जनताले दिएको मत र अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।
प्रचण्डले निर्वाचनका बेला जनताले देखाएको विश्वासलाई सरकारले पूरा गर्न नसकेको भन्दै पछिल्लो समय राजनीतिक अवस्था झन् जटिल बन्दै गएको बताए। उनले सरकारका कामले जनतामा निराशा बढाएको दाबी गर्दै आम नागरिकको भरोसा कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताए।
उनले लोकतन्त्रमा राजनीतिक दलहरूले आफ्ना धारणा राख्नु सामान्य भए पनि जनताका समस्या र अपेक्षालाई सम्बोधन गर्नु सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गरे। प्रचण्डले सत्तापक्षलाई जनताको भावना बुझेर काम गर्न आग्रह गरे।
संसद्मा बोल्ने क्रममा उनले सुनसरीको कप्तानगञ्जमा बोलबम यात्राका क्रममा भएको तनाव र प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले उक्त घटनाको सत्यतथ्य छानबिन गरी वास्तविक जानकारी सार्वजनिक गर्न माग गरे। साथै, यस्ता गम्भीर विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले पर्याप्त ध्यान नदिएको भन्दै उनले प्रश्न उठाए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे