
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकै अवस्थामा कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको भन्दै इतर समूहले आपत्ति जनाएको हो।
इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले अदालतमा मुद्दा चलिरहेको अवस्थामा महाधिवेशन प्रक्रिया एकतर्फी रूपमा अघि बढाउनु उचित नभएको बताए। उनका अनुसार प्रक्रिया रोक्न माग गर्दै इतर समूहले सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको छ।
यसअघि इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पनि महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन पार्टी र निर्वाचन आयोगलाई आग्रह गरेका थिए। उनले साउन २६ गते पत्र पठाउँदै महाधिवेशन प्रक्रिया रोक्न माग गरेका थिए।
तर, कांग्रेसले मंगलबार १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिसकेको छ। यही विषयलाई लिएर संस्थापन इतर समूह र पार्टी नेतृत्वबीच विवाद बढेको हो। इतर समूहले कानुनी बाटोमार्फत महाधिवेशन प्रक्रिया रोक्ने प्रयास गर्ने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे