
काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२–८३ मा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ। कम्पनीले वर्षभरिमा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको अन्तिम तीन महिनामा मात्रै टेलिकमले ४ अर्ब २० करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १ अर्ब २२ करोड रुपैयाँ मात्र थियो।
कम्पनीका अनुसार नाफा बढ्नुको मुख्य कारण इन्टरनेट सेवाको प्रयोग बढ्नु हो। विशेषगरी एफटीटीएच (फाइबर इन्टरनेट) र मोबाइल डाटाको खपत बढेपछि आम्दानी पनि बढेको छ। पछिल्लो समय ग्राहकले फोन कलभन्दा इन्टरनेट डाटा बढी प्रयोग गर्न थालेका छन्।
यसैगरी, कम्पनीले सञ्चालन, मर्मतसम्भार, विज्ञापन र प्रायोजनमा हुने खर्च घटाएको छ। यसबाट पनि उल्लेख्य रकम बचत भएको कम्पनीले जनाएको छ।
गत आर्थिक वर्षमा टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षभन्दा यो करिब १ अर्ब ६ करोड रुपैयाँ बढी हो। कम्पनीको कुल आय पनि बढेर ३९ अर्ब २० करोड रुपैयाँ पुगेको छ। यसले टेलिकमको आर्थिक अवस्था सुधार हुँदै गएको देखाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे