
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा फैलाइने भ्रामक र घृणा फैलाउने सामग्रीमाथि सरकारले निगरानी बढाउनुपर्ने बताएका छन्।
उनको सचिवालयले जारी गरेको पत्रमा पुराना भिडियो तथा अभिव्यक्तिलाई तोडमरोड गरेर भट्टराईलाई हिन्दूविरोधीका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उल्लेख छ। भ्रामक तस्बिर, पोस्टर र सामाजिक सञ्जालका सामग्रीमार्फत धार्मिक घृणा तथा सामाजिक विभाजन बढाउने गतिविधि भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
भट्टराईले अभिव्यक्ति र विचारको स्वतन्त्रताको सम्मान गर्नुपर्ने भए पनि धम्की, घृणा र हिंसा फैलाउने गतिविधिमाथि सरकारले कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्।
उनले धर्मनिरपेक्ष हुनु कुनै धर्मको विरोध गर्नु नभएको स्पष्ट पारेका छन्। धर्म, संस्कृति र परम्पराका गलत अभ्यासमाथि प्रश्न उठाउनु तथा सुधारको पक्षमा बहस गर्नु लोकतान्त्रिक समाजको सामान्य प्रक्रिया भएको उनको भनाइ छ। यस्ता गतिविधिले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा असर पार्न सक्ने भन्दै उनले सबैलाई सचेत रहन आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे