
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते सर्बियाको राजधानी बेलग्रेड जाने भएका छन्। उनी असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन सर्बिया जान लागेका हुन्। मन्त्री खनाल भदौ १७ गते नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भदौ १५ र १६ गते बेलग्रेडमा हुने कार्यक्रममा मन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली सहभागी हुनेछ।
सन् १९६१ मा यही बेलग्रेडमा असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। त्यसको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष स्मरणसभा आयोजना गर्न लागिएको हो। कार्यक्रममा विभिन्न देशका नेता तथा प्रतिनिधिहरू सहभागी हुनेछन्। नेपालले लामो समयदेखि आफ्नो विदेश नीतिमा असंलग्नताको सिद्धान्तलाई महत्वपूर्ण आधार मान्दै आएको छ। नेपालको संविधानले पनि असंलग्न नीतिलाई प्राथमिकतामा राखेको छ।
नेपालले असंलग्न आन्दोलनका विभिन्न सम्मेलन र बैठकमा नियमित रूपमा सहभागिता जनाउँदै आएको छ। साथै, आन्दोलनमा नेपालले सक्रिय र रचनात्मक भूमिका खेल्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे