
काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बौल्डिनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै हालैको विनाशकारी बाढीपछि राहत तथा पुनःस्थापनाका क्षेत्रमा नेपाल–अमेरिका सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल गरेकी छन्।
प्रधानमन्त्री शाहसँगको भेटका क्रममा बौल्डिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेको जानकारी गराउँदै बाढीबाट प्रभावित सबैप्रति अमेरिकी सरकारका तर्फबाट सहानुभूति तथा समवेदना व्यक्त गरिन्। अगस्ट २६ मा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति उनले दुःख व्यक्त गरेकी हुन्।
भेटमा बाढीपछि बेपत्ता भएका अमेरिकी नागरिकको खोजीमा नेपाल सरकारले गरेको सहयोगप्रति बौल्डिनले प्रधानमन्त्री शाहलाई धन्यवाद दिइन्। साथै, विपद्का कारण मृत्यु भएका तथा बेपत्ता व्यक्तिको पहिचान गर्न अमेरिकी संघीय अनुसन्धान ब्युरोले नेपाल प्रहरीसँग निरन्तर सहकार्य गरिरहेको जानकारी गराइन्।
बेपत्ता तथा मृतकको पहिचानसम्बन्धी कार्यमार्फत आफ्ना आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका अमेरिकी, नेपाली तथा अन्य परिवारलाई आवश्यक जानकारी उपलब्ध गराउन अमेरिकी संघीय अनुसन्धान ब्युरोले नेपाल प्रहरीलाई सहयोग गरिरहेको उनले बताइन्।
बौल्डिनले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग नजिक रहेर सहकार्य गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्याइन्। उनका अनुसार बाढीपछिको पुनःस्थापनामा सहयोग पुर्याउन अमेरिकाले स्वास्थ्य, मानवीय सहायता तथा न्यायिक पहिचानसम्बन्धी क्षेत्रमा ५० लाख अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको जीवनरक्षक सहयोग उपलब्ध गराइसकेको छ।
भेटका क्रममा नेपालमा बाढीपछिको पुनःस्थापना तथा दीर्घकालीन आर्थिक विकासलाई सहयोग पुग्ने गरी नेपाल–अमेरिका आर्थिक तथा व्यावसायिक सहकार्य थप विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो। अमेरिकी तथा नेपाली व्यवसायका लागि थप अवसर सिर्जना गर्ने र दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे पनि उनीहरूबीच विचारविमर्श भएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे