
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै ‘सिरिज २०२५’ अंकित १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याइएको जनाएको हो। नयाँ नोटको आकार साविककै रहे पनि यसको रङमा परिवर्तन गरिएको छ। नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र राखिएको छ। त्यस्तै, दृष्टिविहीन व्यक्तिले स्पर्शका आधारमा नोटको दर पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखासहितका संकेत राखिएका छन्। नोटमा लालीगुराँसको पानी छापसँगै ‘१०००’ अंकित पानी छापसमेत समावेश गरिएको छ।
नोटको पृष्ठभागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका राम र लक्ष्मण नामका दुर्लभ जुम्ल्याहा हात्तीको चित्र राखिएको छ। साथै, नेपालको सात प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सात वटा लालीगुराँसका चित्र समावेश गरिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ बैंकनोटको पृष्ठभागमा हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृतिसमेत राखिएको छ। नयाँ डिजाइनका यी विशेषताले नोटमा नेपालको प्राकृतिक, जैविक तथा सांस्कृतिक पहिचानलाई समेट्ने प्रयास गरिएको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे