
लुम्बिनी । विश्वशान्ति, मानव कल्याण तथा सम्पूर्ण प्राणीको रक्षा र सुस्वास्थ्यको कामना गर्दै लुम्बिनीमा सातदिने विशेष पूजा सुरु भएको छ। लुम्बिनीको पश्चिम विहार क्षेत्रमा रहेको पाल थुब्तेन सेडुप लिङ विहार (हजार स्वर्ण बुद्ध मन्दिर) मा आइतबारदेखि महायानी बौद्ध परम्पराअनुसार पूजा आरम्भ गरिएको हो। पूजा आगामी कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ।
पूजामा विभिन्न १२ देशका १५० विदेशी नागरिकसहित करिब ५५० जनाको सहभागिता रहेको छ। कार्यक्रममा महायानी बौद्ध धर्मको कानिङ सम्प्रदायका मूलगुरु छोक्यी न्यीमा रिन्पोछेले सहस्र बुद्धको अभिषेक तथा धार्मिक प्रवचन दिइरहेका छन्।
तिब्बती बौद्ध परम्पराको महत्त्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’ को अवसर पारेर विशेष पूजा आयोजना गरिएको हो। बौद्ध धर्मग्रन्थअनुसार भगवान् गौतम बुद्धले देवताको लोकमा आफ्नी आमासहित देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गरेको घटनाको स्मरणमा यो पर्व मनाउने गरिन्छ।
तिब्बती पात्रोअनुसार नवौँ महिनाको २२औँ दिन मनाइने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ। यस दिन गरिने धार्मिक तथा पुण्यकर्मको विशेष महत्त्व रहने बौद्ध धार्मिक मान्यता छ।
यसै अवसरमा लुम्बिनीस्थित पाल थुब्तेन सेडुप लिङ विहारको उद्घाटन भएको दोस्रो वार्षिकोत्सवसमेत मनाइँदैछ। विश्वशान्ति र मानव कल्याणको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित पूजाले लुम्बिनीको धार्मिक तथा अन्तर्राष्ट्रिय बौद्ध पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे