
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ संस्करण सम्पन्न गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित प्रतियोगिता आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न भएको हो।
प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो। पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ। त्यस्तै, महिलातर्फको फाइनलमा साविक विजेता लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै उपाधि रक्षा गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृत, विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
मुख्य प्रतियोगिताअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) बीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। उक्त प्रतिस्पर्धामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) विजयी भएको थियो। मैत्रीपूर्ण खेलपछि सुरु भएको मुख्य प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको समापन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा बैंकको उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्य अभिवृद्धि गर्न सहयोग पुर्याउँदै आएको जनाएको छ। कार्यक्षेत्रभन्दा बाहिर खेलकुदमार्फत विभिन्न संस्थाका कर्मचारीलाई एकै ठाउँमा जोड्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ।
यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवकै अवसरमा आगामी कात्तिक १८ गते बुधबार देशव्यापी रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे