
काठमाडौं । दसैं–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदा विदेशबाट नेपाल भित्रिने रेमिट्यान्समा उल्लेख्य वृद्धि हुने गरेको छ। चाडपर्वका बेला परिवारको खर्च धान्न विदेशमा रहेका नेपालीले स्वदेशमा रकम पठाउने क्रम बढेसँगै कुनै–कुनै महिनामा रेमिट्यान्स दुई खर्ब रुपैयाँभन्दा माथि पुग्ने गरेको छ। तर, यसरी भित्रिने ठूलो रकम दैनिक उपभोग र ऋण भुक्तानीमै खर्च हुने गरेको सरकारी तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को असोज महिनामा मात्रै दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। एकै महिनामा दुई खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको यो पहिलो पटक थियो। उक्त आर्थिक वर्षको भदौ, असोज र कात्तिक गरी तीन महिनामा कुल पाँच खर्ब नौ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
राष्ट्र बैंकको मासिक तथ्यांकले दसैं–तिहारअघि रेमिट्यान्स बढ्ने र चाडपर्व सकिएपछि घट्ने प्रवृत्ति देखाउँछ। गत आर्थिक वर्षको असोजमा भदौको तुलनामा रेमिट्यान्स १५.२ प्रतिशतले बढेको थियो। तर, तिहार परेको कात्तिकमा भने अघिल्लो महिनाको तुलनामा ३३.५ प्रतिशतले घटेर एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको थियो। मंसिरमा पुनः वृद्धि हुँदै रेमिट्यान्स एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ पुगेको थियो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पनि यस्तै प्रवृत्ति देखिएको थियो। उक्त वर्षको असोजमा एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन भदौको तुलनामा १२.६ प्रतिशत बढी थियो। कात्तिकमा भने रेमिट्यान्स २०.७ प्रतिशतले घटेर एक खर्ब १४ अर्ब ३१ करोड रुपैयाँमा झरेको थियो। चाडपर्वको खर्च व्यवस्थापनका लागि विदेशमा रहेका नेपालीले आवश्यक रकम चाडअघि नै पठाउने भएकाले असोजमा वृद्धि र कात्तिकमा गिरावट देखिने गरेको हो।
यद्यपि, चाडपर्वका कारण कुनै एक महिनामा रेमिट्यान्स बढ्दैमा वार्षिक कुल रेमिट्यान्समा त्यस अवधिको हिस्सा अस्वाभाविक रूपमा उच्च हुने देखिँदैन। आर्थिक वर्ष २०८२/८३ मा कुल २३ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिँदा भदौदेखि कात्तिकसम्मको तीन महिनाको हिस्सा २१.६ प्रतिशत रहेको थियो। त्यस अवधिमा मासिक औसत एक खर्ब ९७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा करिब १७ खर्ब २३ अर्ब रुपैयाँ कुल रेमिट्यान्स भित्रिँदा भदौ–कात्तिकको हिस्सा करिब २२.४ प्रतिशत थियो। पछिल्ला पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा यी तीन महिनामा भित्रिने रेमिट्यान्स वार्षिक कुलको २१.५ देखि २५ प्रतिशतसम्म रहने गरेको छ। वर्षभरि समान रूपमा रेमिट्यान्स भित्रिने अवस्था भए पनि तीन महिनाको हिस्सा २५ प्रतिशत हुने भएकाले चाडपर्वको अवधिमा देखिने उतारचढावले समग्र वार्षिक प्रवृत्तिमा ठूलो फरक नपार्ने देखिन्छ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी रेमिट्यान्स भने चाडपर्वको समयमा नभई वैशाख महिनामा भित्रिएको थियो। उक्त महिनामा मात्रै दुई खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।
चालु आर्थिक वर्ष २०८३/८४ मा दसैंको टीका कात्तिक ४ गते परेको थियो भने तिहार कात्तिक २० गतेदेखि सुरु हुँदैछ। नेपाल राष्ट्र बैंकले असोज महिनासम्मको रेमिट्यान्स विवरण सार्वजनिक गरिसकेको छैन। उपलब्ध तथ्यांकअनुसार साउनमा दुई खर्ब १५ अर्ब पाँच करोड र भदौमा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। दुई महिनामा कुल चार खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशत बढी हो।
गत आर्थिक वर्ष २०८२/८३ मा रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १२ करोड रुपैयाँ पुगेको थियो। उक्त रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ३५.८ प्रतिशत बराबर हो। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार युरोप, अमेरिका, जापान र कोरियाबाट आउने रेमिट्यान्स बढेकाले खाडी मुलुकमा देखिएको असरले समग्र रेमिट्यान्स आप्रवाहमा ठूलो गिरावट ल्याउन सकेको छैन।
रेमिट्यान्सको आकार बढ्दै गए पनि त्यसको उपयोग उत्पादनमूलक क्षेत्रमा हुन नसकेको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार रेमिट्यान्स प्राप्त गर्ने परिवारले प्राप्त रकमको ७२.४ प्रतिशत दैनिक उपभोगमा खर्च गर्छन्। त्यस्तै, १५.८ प्रतिशत रकम ऋण तिर्न प्रयोग हुने गरेको छ। यसरी कुल रेमिट्यान्सको ८८.२ प्रतिशत रकम उपभोग र ऋण भुक्तानीमै खर्च हुने गरेको छ। पुँजी निर्माण तथा व्यवसाय सञ्चालनमा प्रयोग हुने रकम भने जम्मा १.६ प्रतिशत मात्रै छ।
सर्वेक्षणअनुसार नेपालका ७६.८ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्छन्। रेमिट्यान्स प्राप्त गर्ने एउटा परिवारले वार्षिक औसत एक लाख ४५ हजार ९३ रुपैयाँ पाउने गरेको छ। यो त्यस्ता परिवारको कुल आम्दानीको ३३.४ प्रतिशत हो। यसले नेपाली घरपरिवारको आयआर्जन र दैनिक जीवनयापनमा वैदेशिक रोजगारीबाट प्राप्त हुने रकमको ठूलो निर्भरता रहेको देखाउँछ।
पछिल्लो दशकमा रेमिट्यान्सबाट ऋण तिर्ने हिस्सा पनि उल्लेख्य रूपमा बढेको छ। तेस्रो जीवनस्तर सर्वेक्षण (२०६७/६८) अनुसार त्यसबेला रेमिट्यान्सको ७८.९ प्रतिशत दैनिक उपभोगमा र ७.१ प्रतिशत ऋण भुक्तानीमा खर्च हुने गरेको थियो। चौथो सर्वेक्षणसम्म आइपुग्दा ऋण तिर्ने प्रयोजनमा खर्च हुने हिस्सा १५.८ प्रतिशत पुगेको छ। अर्थात्, एक दशकको अवधिमा रेमिट्यान्सबाट ऋण तिर्ने हिस्सा दोब्बरभन्दा बढी भएको छ।
यसबीच घरपरिवारले साहु–महाजनबाट लिने ऋणको हिस्सा पनि घटेको सर्वेक्षणले देखाएको छ। आर्थिक वर्ष २०५२/५३ मा यस्तो ऋणको हिस्सा ३९.७ प्रतिशत रहेकामा २०७९/८० सम्म आइपुग्दा ११.४ प्रतिशतमा झरेको छ।
चाडपर्वका बेला रेमिट्यान्सबाट हुने उपभोग खर्चको ठूलो हिस्सा आयातीत वस्तुमा जाने गरेको छ। विशेषगरी तिहारमा प्रयोग हुने काजु, किसमिस, बदामलगायतका ड्राइफ्रुट्स तथा अन्य उपभोग्य सामग्री विदेशबाट आयात हुने भएकाले चाडपर्वमा बढेको खर्चले स्वदेशी उत्पादन र पुँजी निर्माणमा अपेक्षित योगदान पुर्याउन सकेको छैन।
यसरी रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति, घरपरिवारको आम्दानी र उपभोगलाई ठूलो टेवा पुर्याए पनि त्यसलाई बचत, लगानी, उद्यमशीलता र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न नसक्नु चुनौतीका रूपमा देखिएको छ। विदेशमा श्रम गरेर पठाएको रकमको ठूलो हिस्सा तत्कालीन खर्च र ऋण भुक्तानीमै सीमित हुँदा दीर्घकालीन आर्थिक रूपान्तरणमा रेमिट्यान्सको योगदान अपेक्षाकृत कमजोर देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे