
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न आग्रह गरेको छ। मन्त्रालयले दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी अभ्यास नगरी सबै जातजाति तथा समुदायको समान सहभागिता सुनिश्चित गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्वका क्रममा कुनै पनि जातजाति, वर्ग वा समुदायका आधारमा विभेद हुने गतिविधि नगर्न ध्यानाकर्षण गराएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्वले आपसी मेलमिलाप, भाइचारा र राष्ट्रिय एकतालाई बलियो बनाउने भएकाले यसको मूल मर्मविपरीतका गतिविधि नगर्न मन्त्रालयले आग्रह गरेको छ।
विज्ञप्तिमा सार्वजनिक स्थानमा प्रवेश निषेध गर्ने, जातीय आधारमा छुट्टाछुट्टै घाट निर्माण गर्ने वा कुनै समुदायलाई अलग्याउने कार्य संविधानको मर्म र समानताको सिद्धान्तविपरीत हुने उल्लेख गरिएको छ। विशेषगरी दलित समुदायलाई अन्य समुदायभन्दा अलग राखेर छठ पर्व मनाउन बाध्य पार्ने अभ्यासले सामाजिक सद्भाव र समावेशी संस्कृतिमा नकारात्मक असर पार्ने मन्त्रालयको भनाइ छ।
मन्त्रालयले नेपालको संविधानको धारा १८ मा समानताको हक र धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरिएको स्मरण गराएको छ। त्यस्तै, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले जातीय आधारमा गरिने छुवाछुत तथा भेदभावलाई दण्डनीय कसुरका रूपमा व्यवस्था गरेको जनाएको छ।
यस्ता विभेदकारी गतिविधि हुन नदिन स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारण नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न मन्त्रालयले अनुरोध गरेको छ। छठ पर्वलाई सबै समुदायले समान अधिकार, सम्मान र सहभागितासहित मनाउने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने मन्त्रालयको जोड छ।
सबै जातजाति, वर्ग, क्षेत्र तथा समुदायको समान अधिकार र आत्मसम्मान सुनिश्चित गर्दै समावेशी तथा समतामूलक समाज निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। सामाजिक सद्भाव, आपसी भाइचारा र समावेशी संस्कृतिको प्रवर्द्धनमा समेत मन्त्रालयले सबैको सहयोग अपेक्षा गरेको छ।
यसैबीच, मन्त्रालयले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे