
एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय बैठक हुँदैछ। विश्वका तीन शक्तिशाली देशका प्रमुख एकै ठाउँमा बसेर छलफल गर्न लागेकाले यसलाई अन्तर्राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिन बुधबार राति चीन पुगिसकेका छन्। त्यसअघि नै तीनै नेताबीच चीनको सेन्जेनमा भेट भएको थियो।
रुसी सञ्चारमाध्यमले यस भेटलाई ऐतिहासिक कूटनीतिक घटनाका रूपमा व्याख्या गरेका छन्। दोस्रो विश्वयुद्धपछि पहिलोपटक तीन शक्तिशाली देशका प्रमुख एकैपटक त्रिपक्षीय वार्तामा बस्न लागेको दाबी गरिएको छ।
विश्लेषकहरूका अनुसार चीनले यो बैठकमार्फत आफ्नो अन्तर्राष्ट्रिय प्रभाव र कूटनीतिक शक्ति देखाउन खोजेको छ। अमेरिका र रुसजस्ता शक्तिशाली देशलाई एउटै वार्ताको टेबलमा ल्याउन सक्ने क्षमता चीनसँग रहेको सन्देश दिनु राष्ट्रपति सीको उद्देश्य रहेको बताइएको छ।
यसअघि रुसी राष्ट्रपति कार्यालयले तीनै नेताको भेटको भिडियो सार्वजनिक गरेको थियो। भिडियोमा सी, ट्रम्प र पुटिन रातो कार्पेटमा सँगै देखिएका छन्। रुसी सञ्चारमाध्यमले यस भेटलाई दिनकै सबैभन्दा महत्त्वपूर्ण कूटनीतिक घटनाका रूपमा प्रस्तुत गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे