
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स यसअघि नै फाइनलमा पुगिसकेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल पुग्ने अर्को अवसरका रूपमा दोस्रो क्वालिफायरमा उत्रन लागेको हो।
चितवन राइनोजले भने बुधबार भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। उक्त खेलमा पहिले ब्याटिङ गरेको चितवनले कमिल मिश्राको अविजित १२० रन र रवि बोपाराको ५३ रनको योगदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो।
२०५ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज रिजन ढकालको ४ तथा उसामा मिरको ३ विकेटसामु टिक्न नसक्दा १४३ रनमै समेटिएको थियो। यससँगै चितवनले ६१ रनको प्रभावशाली जित निकाल्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो।
एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गरेको चितवन सोही लयलाई निरन्तरता दिँदै पहिलोपटक एनपीएलको फाइनलमा पुग्ने लक्ष्यमा छ। अर्कोतर्फ, पहिलो क्वालिफायरको हार बिर्साउँदै फाइनलमा स्थान सुरक्षित गर्ने योजनासहित सुदूरपश्चिम मैदान उत्रनेछ।
सुदूरपश्चिम लगातार तेस्रो सिजन उपाधि प्रतिस्पर्धामा पुग्ने लक्ष्यमा छ। यसअघि पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने अभियानमा छ। चितवनका लागि भने यो पहिलोपटक फाइनल पुग्ने अवसर हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे