
काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद तथा दुर्व्यवहार अन्त्य गरी उनीहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न राज्यका सबै संयन्त्र र समाजका प्रत्येक पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी छन्।
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस (नोभेम्बर २०) का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले बाल अधिकारको संरक्षण गर्नु राज्यको संवैधानिक दायित्वसँगै समाजको साझा जिम्मेवारी भएको उल्लेख गरेकी हुन्। उनले बालबालिकालाई केवल कल्याणका पात्रका रूपमा नभई स्वतन्त्र अधिकार भएका नागरिकका रूपमा सम्मान र व्यवहार गर्नुपर्नेमा जोड दिएकी छन्।
यस वर्ष ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ भन्ने नाराका साथ मनाइँदै गरेको दिवसले बाल अधिकारको संरक्षण र प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न सबैलाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री बादीले बालविवाह, बालश्रम, हिंसा, दुर्व्यवहार, बेचबिखन तथा ओसारपसार, यौन शोषण र विभेद अझै पनि बालबालिकाका लागि गम्भीर चुनौतीका रूपमा रहेको बताएकी छन्। प्रविधिको विस्तारसँगै साइबर दुर्व्यवहार, अनलाइन उत्पीडन तथा व्यक्तिगत गोपनीयताको दुरुपयोगजस्ता नयाँ जोखिमसमेत बढ्दै गएको उनले उल्लेख गरेकी छन्।
यस्ता समस्याको प्रभावकारी नियन्त्रण र बालबालिकाको अधिकार संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वय तथा बाल संरक्षण प्रणालीको सुदृढीकरण आवश्यक रहेको मन्त्री बादीको भनाइ छ।
यसैबीच, विपद्बाट प्रभावित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको दीर्घकालीन हेरचाह र संरक्षणलाई प्राथमिकता दिँदै सरकारले ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयनमा ल्याएको उनले जानकारी दिएकी छन्।
उक्त योजनाले सम्भव भएसम्म बालबालिकालाई आफ्नै जैविक परिवारमा सुरक्षित वातावरणमा हुर्कने अवसर सुनिश्चित गर्ने लक्ष्य राखेको छ। परिवारमा आधारित स्याहार प्रणालीलाई प्रोत्साहन गर्ने र संस्थागत स्याहारलाई अन्तिम विकल्पका रूपमा मात्र अपनाउने नीति योजनामा समेटिएको छ।
विपद्पछि विशेष संरक्षण आवश्यक भएका बालबालिकाको उद्धार, संरक्षण तथा पुनर्स्थापनाका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्रसमेत सञ्चालनमा ल्याइएको मन्त्री बादीले बताएकी छन्। उक्त केन्द्रमार्फत बालबालिकालाई आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पुनर्मिलनलगायत सेवा उपलब्ध गराउँदै आएको उनले सन्देशमा उल्लेख गरेकी छन्।
मन्त्री बादीले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर उनीहरूको विचार, आवाज र सहभागिताको सम्मान गर्नुपर्नेमा जोड दिएकी छन्। बाल अधिकार संरक्षण सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले परिवार, विद्यालय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम तथा विकास साझेदारलाई बालमैत्री र विभेदरहित वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्।
प्रत्येक बालबालिकाले सुरक्षित, समावेशी र सम्मानजनक वातावरणमा हुर्कन पाउने अधिकार सुनिश्चित गर्न सबै पक्षको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उनको सन्देश छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे