
मुस्ताङ — नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय चिनियाँ टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। नेपाल–चीन उत्तरी नाका कोरलानाको अवस्था, सञ्चालन तथा त्यहाँ देखिएका समस्या र चुनौतीबारे जानकारी लिन राजदूतसहितको टोली मुस्ताङ आएको बताइएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चिनियाँ राजदूतसहितको टोली कोरलानाका हुँदै लोमान्थाङ आइपुगेको हो। भ्रमणको विस्तृत कार्यक्रमबारे पूर्ण जानकारी प्राप्त नभए पनि टोलीको सुरक्षा व्यवस्थासहित आवश्यक समन्वय गरिएको उनले जानकारी दिइन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार राजदूत चाङ तीनदिने भ्रमणका क्रममा मुस्ताङ आएका हुन्। टोलीमा चिनियाँ पक्षका पाँच जना तथा नेपालस्थित चिनियाँ दूतावासका दुई जना कर्मचारी रहेको बताइएको छ। टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको प्रहरीले जनाएको छ।
भ्रमण तालिकाअनुसार राजदूत चाङ आइतबार लोमान्थाङबाट जोमसोम आउने र जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल–चीनका सम्बन्धित अधिकारीबीच कोरलानाकासम्बन्धी बैठकमा सहभागी हुने कार्यक्रम छ। बैठकपछि उनी पुनः लोमान्थाङ फर्किने र भ्रमणको तेस्रो तथा अन्तिम दिन कोरलानाका हुँदै चीन फर्किने तयारी रहेको जनाइएको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरलानाका हुँदै चिनियाँ राजदूतको यो भ्रमण यसअघि नभएको उच्चस्तरीय भ्रमण हो। कोरलानाकालाई पूर्णरूपमा सञ्चालनमा ल्याउने विषयसँगै नाकाको समग्र अवस्थाको अनुगमन, नेपालतर्फको पूर्वाधार र नाकासम्म जोडिने सडकको अवस्थाबारे स्थलगत जानकारी लिन भ्रमण महत्वपूर्ण रहेको उनको भनाइ छ।
पछिल्लो समय नेपाल–चीन उत्तरी नाकामध्ये रसुवागढी–केरुङ र तातोपानी नाका प्रभावित भएपछि कोरलानाकाको रणनीतिक महत्व थप बढेको छ। गत भदौ १० गतेको भोटेकोशी बाढीपछि रसुवागढी–केरुङ नाका बन्द रहेको तथा तातोपानी नाका पनि प्रभावित अवस्थामा रहेकाले मुस्ताङको कोरलानाका वैकल्पिक व्यापारिक मार्गका रूपमा चर्चामा आएको हो।
नाका सञ्चालनसँगै मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत वृद्धि भएको जनाइएको छ। अन्य प्रमुख उत्तरी नाका प्रभावित भएपछि कोरलानाका हुँदै हुने व्यापारिक गतिविधिले राजस्व सङ्कलनमा उल्लेख्य योगदान पुर्याइरहेको बताइएको छ।
कोरलानाकालाई पूर्णरूपमा सञ्चालनमा ल्याई अन्तर्राष्ट्रिय नाकाका रूपमा व्यवस्थित गर्ने, नाकामा देखिएका समस्या समाधान गर्ने तथा नेपालतर्फ आवश्यक पूर्वाधार विस्तार र सडक सञ्जालको अवस्थाबारे दुवै पक्षबीच समन्वय बढाउने दृष्टिले चिनियाँ राजदूतको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भ्रमणका क्रममा नाका सञ्चालनसँग सम्बन्धित व्यावहारिक समस्या र आगामी सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे