
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङले प्राधिकरणको नाफा घटेको भन्दै यसबारे गम्भीर समीक्षा र सुधार गर्नुपर्ने बताएका छन्। प्राधिकरणको ४१औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
घिसिङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफा करिब १२ अर्ब रुपैयाँ थियो। तर आर्थिक वर्ष २०८२/८३ मा कर तिर्नुअघिको नाफा घटेर करिब ५ अर्ब रुपैयाँमा सीमित भएको छ। उनले नाफामा आएको यो ठूलो गिरावटलाई सामान्य रूपमा लिन नहुने बताएका छन्।
घिसिङले विगतमा नेपाल विद्युत प्राधिकरणलाई लामो समयको लोडसेडिङ र घाटाका कारण कमजोर संस्थाका रूपमा हेरिने गरेको स्मरण गरेका छन्। उनका अनुसार २०७२/७३ पछि प्राधिकरणले ठूलो परिवर्तन गर्दै लोडसेडिङ अन्त्य, देशभर विद्युत पहुँच विस्तार र विद्युत आयातकर्ताबाट निर्यातकर्ता बन्ने सफलता हासिल गरेको थियो।
उनले सक्षम नेतृत्व, इमानदार व्यवस्थापन र स्पष्ट लक्ष्य भए सरकारी संस्थाले पनि देशको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताए। अहिले नाफा घट्दैमा प्राधिकरणलाई कमजोर बनाउनुको सट्टा अझ सक्षम, पारदर्शी, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने उनको सुझाव छ। उनले भरपर्दो विद्युत सेवा र विद्युत निर्यात बढाउन प्राधिकरणको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे