
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सरकार बनेको चार महिनामै आफ्नो निर्वाचन क्षेत्रमा ठूलो परिवर्तन गर्न सम्भव नभएको बताएका छन्। आइतबार गोरखाको शहीद लखन गाउँपालिका–९ का स्थानीयसँग छलफल गर्दा उनले यस्तो बताएका हुन्।
छलफलमा स्थानीयवासीले चुनावका बेला गरेका वाचा पूरा नभएको भन्दै मन्त्रीसँग प्रश्न गरेका थिए। उनीहरूले चुनावका बेला बोलेका योजनाका लागि बजेट कहाँ छ भनेर पनि सोधेका थिए। जवाफमा गुरुङले चार महिनामै सबै वाचा पूरा गर्न नसकिने बताए।
उनले आफूलाई विश्वास गर्न नसके आगामी चुनावमा भोट नदिन पनि मतदातालाई भने। तर पाँच वर्षसम्म काम गर्ने अवसर दिएर त्यसपछि आफ्नो कामको मूल्याङ्कन गर्न उनले आग्रह गरे। उनका अनुसार अहिले सरकारको पहिलो बजेट मात्र आएको छ र विकासका काम विस्तारै अघि बढिरहेका छन्।
स्थानीय तहबाट आवश्यक योजनाको सूची मागेर त्यसअनुसार काम भइरहेको गुरुङले बताए। उनले साना–साना सबै योजना बजेटमा समेट्दा धेरै ठूलो सूची बन्ने भएकाले प्राथमिकताका आधारमा काम गर्नुपर्ने धारणा राखे।
गुरुङले चार महिनामै निर्वाचन क्षेत्रमा कायापलट गर्न नसकिने बताएपछि उनको भनाइको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको छ। स्थानीयले भने चुनावमा गरिएका प्रतिबद्धता पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे