
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाएका छन्। उनले प्रहरी मुख्यालय केही निश्चित बिचौलियाको प्रभावमा परेको दाबीसमेत गरेका छन्। बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरी पोसाक खरिदसँग सम्बन्धित कागजात १५ दिनअघि नै मागिए पनि अहिलेसम्म उपलब्ध नगराइएको बताए। समितिले खरिद प्रक्रियाबारे अध्ययन गर्न ती कागजात मागेको थियो।
तर, माग गरिएका कागजात नदिइँदै फेरि करोडौँ रुपैयाँको नयाँ टेन्डर आह्वान गरिएको भन्दै उनले प्रश्न उठाए। सुनारले आफूले उठाएका विषय प्रमाणमा आधारित रहेको दाबी गर्दै अनियमितताको विषयमा कुनै सम्झौता नगर्ने बताए। उनले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको लागे अदालत जानसमेत चुनौती दिए। आफू अदालतमा उपस्थित भएर जवाफ दिन तयार रहेको उनको भनाइ थियो।
सुनारले सार्वजनिक लेखा समितिलाई आरोप–प्रत्यारोप गर्ने ठाउँ बनाउन नहुने भन्दै समितिको गरिमा कायम राख्नुपर्ने बताए। सरकार वा कुनै निकायको बचाउका नाममा समितिको मर्यादा कमजोर पार्ने काम स्वीकार्य नहुने पनि उनले बताए। यस विषयमा सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच यसअघि पनि समितिको बैठकमा चर्काचर्की भएको थियो। आरोपबारे प्रहरीको विस्तृत आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे