
काठमाडौँ । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरेको छ।
सडक खुलाउने क्रममा गरिएको परीक्षण सफल भए पनि सडकको सतहमा ग्राभेल बिछ्याउने, पानी निकासका लागि सतहगत निकास प्रणाली निर्माण गर्ने तथा सक्रिय पहिरो क्षेत्रमा फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङ गर्ने काम बाँकी रहेको सडक विभागको योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेले बताए।
उनका अनुसार आइतबार कृष्णभीरमा एक चरणको ट्र्याक खोलिएको थियो। उपलब्ध ग्यास बुलेटलाई ट्र्याक पार गराएर सडकको भार तथा सञ्चालनसम्बन्धी परीक्षणसमेत गरिएको थियो। परीक्षण सफल भए पनि आवश्यक प्राविधिक काम पूरा नभइसकेकाले तत्कालका लागि यातायात पुनः रोकिएको उनले जानकारी दिए।
कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्रसमेत भएकाले सडक विभागले विज्ञ तथा नेपाल जियोटेक्निकल सोसाइटीसँग परामर्श गरेर सडक सञ्चालनको योजना बनाएको हो। पहिरोतर्फको भित्ताबाट सडक खन्दै तत्काल यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका काम अघि बढाउने निर्णय गरिएको न्यौपानेले बताए।
सुरुमा एक लेनको ट्र्याक खोल्ने र त्यसलाई विस्तार गर्दै दुईतर्फी यातायात सञ्चालन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए। सडक सञ्चालनका लागि ग्राभेल बिछ्याउने तथा पानी निकासको व्यवस्था गर्ने कामलाई प्राथमिकतामा राखिएको छ।
सक्रिय पहिरो क्षेत्रमा पानी जम्न नदिन फ्रेन्च ड्रेन तथा होरिजोन्टल ड्रिलिङमार्फत पानी निकासको व्यवस्था गरिने विभागले जनाएको छ। यी काम पूरा भएपछि असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको न्यौपानेले बताए।
यद्यपि सडक सञ्चालनपछि माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या देखिएमा तत्कालको अवस्था मूल्यांकन गरी यातायात सञ्चालनबारे निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने उनले स्पष्ट पारे।
भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो। त्यसपछि आएको अर्को बाढीले नदी कटान थप बढाउँदा परेवाभीर, कृष्णभीरलगायत स्थानमा सडकको तल्लो भागसमेत बगेको सडक विभागले जनाएको छ। नदीको सतह बढ्नुका साथै निरन्तरको कटानले राजमार्गका विभिन्न स्थानमा सडकको संरचनामा क्षति पुगेको विभागको भनाइ छ।
न्यौपानेका अनुसार भदौ १० गतेको भोटेकोशी बाढीले पृथ्वी राजमार्गका केही खण्डमा क्षति पुर्याएको थियो भने भदौ १४ गते आएको बाढीले नदी कटान थप बढाउँदा परेवाभीर, कृष्णभीरलगायत क्षेत्रमा सडकको तल्लो भाग बगाएको थियो।
बाढी तथा पहिरोको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशूली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। विपद्को समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र अत्यावश्यक यात्रा गर्नुपर्ने भए सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न विभागले अनुरोध गरेको छ।
बाढी तथा वर्षाको अवस्था सामान्य भएपछि पृथ्वी राजमार्गको विस्तृत प्राविधिक मूल्यांकन गरिने न्यौपानेले बताए। मूल्यांकनका आधारमा प्रभावित खण्डमा आवश्यक मर्मत, सुधार तथा पुनर्निर्माणका काम अघि बढाइनेछ।
सडक विभागले बाढी तथा पहिरोबाट प्रभावित पृथ्वी राजमार्गका अन्य खण्डको समेत अवस्था निरन्तर मूल्यांकन गरिरहेको जनाएको छ। तत्काल यातायात सञ्चालनका लागि आवश्यक कामसँगै दीर्घकालीन रूपमा सडक संरचनालाई सुरक्षित र दिगो बनाउने उपायसमेत अघि बढाइने विभागको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे