
काठमाडौं । जापानको फुकुओका सहरमा नेपाली छात्रा लक्ष्मी राजवंशीको हत्या गरेको आरोपमा तीन जना नेपाली नागरिक पक्राउ परेका छन्। जापानी प्रहरीले मंगलबार उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको हो।
पक्राउ पर्नेमा फुकुओकामा अध्ययनरत २८ वर्षीया सञ्जु तामाङ, सागा प्रान्तको तोसुमा बस्ने २५ वर्षीया अस्मिता तामाङ र २२ वर्षीय अन्तर्राष्ट्रिय विद्यार्थी प्रवीन लामा छन्। उनीहरूमाथि २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या गरेको आरोप लागेको छ। राजवंशी सन् २०२३ मा विद्यार्थी भिसामा जापान पुगेकी थिइन्।
प्रहरीका अनुसार गत अगस्ट १८ को राति राजवंशीमाथि फुकुओकास्थित उनको कोठामा आक्रमण भएको थियो। उनलाई पकाउने भाँडोले टाउकोमा हिर्काएर डोरीले घाँटी थिचिएको र त्यसपछि तेस्रो तलाको बाल्कोनीबाट नदीमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नदीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सञ्जु राजवंशीले प्रेम गरिरहेका व्यक्तिसँगै बस्दै आएको प्रहरीले जनाएको छ। प्रहरीले सञ्जुले नै राजवंशीमाथि आक्रमण गरी बाल्कोनीबाट खसाएको आशंका गरेको छ।
अगस्ट १९ बिहान एक स्थानीय व्यक्तिले नाका नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले राजवंशीलाई मृत अवस्थामा फेला पारेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे