
काठमाडौं । मलेसियाको पूर्वी सारावाक राज्यमा मेडिकल हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पाइलट र स्वास्थ्य मन्त्रालयका चार कर्मचारी रहेका छन्। हेलिकप्टर मंगलबार दुर्गम क्षेत्रमा रहेको लोङ लेलाङ विमानस्थल नजिकै दुर्घटनामा परेको हो।
हेलिकप्टर ‘फ्लाइङ डाक्टर सर्भिस’ अन्तर्गत दुर्गम गाउँका मानिसलाई स्वास्थ्य सेवा दिन जाँदै थियो। त्यसमा एक मेडिकल अधिकृत, एक सहायक मेडिकल अधिकृत र दुई नर्स सवार थिए। अधिकारीहरूले दुर्घटनामा हेलिकप्टरमा रहेका सबै पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
दुर्घटनास्थल निकै दुर्गम भएकाले उद्धार टोलीलाई पुग्न करिब १० घण्टा लागेको थियो। बाक्लो तुवाँलोका कारण हेलिकप्टरबाट उद्धार गर्न नसकिएपछि टोली सडकमार्फत घटनास्थल पुगेको थियो।
दुर्घटना किन भयो भन्नेबारे अहिलेसम्म जानकारी सार्वजनिक गरिएको छैन। मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई दुर्घटना अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान सुरु गरेको छ। मृतकहरूको पहिचान भने अझै सार्वजनिक गरिएको छैन।
यसैबीच, छिमेकी इन्डोनेसियामा लागेको डढेलोका कारण सारावाकमा केही सातादेखि तुवाँलो र वायु प्रदूषणको समस्या देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे