
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन पाइएका चार प्रकारका चाउचाउ तत्काल बजारबाट फिर्ता (रिकल) गर्न र बिक्री–वितरण रोक्न सम्बन्धित उत्पादक कम्पनीलाई आदेश दिएको छ।
विभागले सार्वजनिक गरेको आदेशअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका चाउचाउका नमूनाको प्रयोगशाला परीक्षण गर्दा ती उत्पादन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६(क) विपरीत रहेको तथा न्यूनस्तर भएको पुष्टि भएपछि उक्त निर्णय गरिएको हो।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम सम्बन्धित ब्याच नम्बरका सबै उत्पादन तत्काल बजारबाट फिर्ता लिन र दफा ३८(४) बमोजिम अर्को सूचना नभएसम्म बिक्री तथा वितरण नगर्न निर्देशन दिएको जनाएको छ। यो आदेश २०८३ असार ३२ गतेको निर्णयअनुसार जारी गरिएको विभागले स्पष्ट गरेको छ।
रिकलको आदेशमा बी.सीजी फुड्स इन्टरप्राइजेज प्रालि, बाँसगढी–३, बर्दिया द्वारा उत्पादित चार प्रकारका चाउचाउ समावेश छन्। तीमध्ये २५ ग्रामको गोलमोल इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. B/BM2 D, उत्पादन मिति २०८३/०१/११), ६० ग्रामको वाइवाइ इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. B/BM1-X-2026-05-14, उत्पादन मिति २०२६/०५/१४), २५ ग्रामको प्रिमियम पिरो इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. B/BM2 C, उत्पादन मिति २०८३/०१/२८) तथा ६० ग्रामको मामा इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. B/BM1-X-2026-05-13, उत्पादन मिति २०२६/०५/१३) रहेका छन्। सबै उत्पादनको उपभोग्य अवधि उत्पादन मितिबाट १२ महिनासम्म तोकिएको छ।
विभागले उपभोक्तालाई उल्लेखित ब्याच नम्बरका चाउचाउ खरिद नगर्न तथा बिक्रीमा रहेका अवस्थामा सम्बन्धित विक्रेता र उत्पादकले तत्काल फिर्ता गरी कानुनी व्यवस्था पालना गर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे