
काठमाडौं। श्रमिक तथा पीडितका उजुरी समयमै समाधान नभएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढेपछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले मातहतका कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ।
विभागले श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै श्रमिकबाट आएको उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्र आवश्यक प्रक्रिया अघि बढाएर त्यसको जानकारी सम्बन्धित व्यक्तिलाई दिन भनेको छ।
हेल्लो सरकार, श्रम मन्त्रालय वा विभागमार्फत आएका तथा कार्यालयमै सिधै दर्ता भएका उजुरीहरू लामो समयसम्म समाधान नभएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको विभागले जनाएको छ। सेवाग्राहीसँग राम्रो व्यवहार गर्न र श्रमिकलाई न्याय दिन ढिलाइ नगर्न कर्मचारीलाई सचेत गराइएको छ।
यदि कुनै उजुरी आफ्नो कार्यालयको जिम्मेवारीभित्र नपर्ने भए सम्बन्धित व्यक्तिलाई तुरुन्त जानकारी दिई उचित निकायमा पठाउनुपर्नेछ।
विभागले रोजगारदाता संस्थाबाट समयमै प्रतिक्रिया लिन, श्रम कानुनअनुसार छलफल गराउन र समस्या समाधान नभए आवश्यक निर्णय गर्न पनि निर्देशन दिएको छ। श्रम अदालत वा कार्यालयका निर्णय कार्यान्वयनमा समेत ढिलाइ नगर्न भनिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे