
काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै साउन ७ गतेदेखि पुनः सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्।
दार्चुलाबाट जारी विज्ञप्तिमा उनले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थबाट मुक्त गरी जनमुखी बनाउनुपर्ने माग गरेका छन्। उनले चिकित्सा शिक्षा ऐनअनुसार शिक्षा क्षेत्रलाई गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
डा. केसीले निजी मेडिकल कलेजलाई फाइदा पुग्ने गरी गरिएका निर्णय, छात्रवृत्ति घटाउने योजना र नियुक्ति प्रक्रियामा देखिएको विवादप्रति आपत्ति जनाएका छन्। उनले गेटा मेडिकल कलेजलाई राजनीतिक र व्यापारिक स्वार्थबाट मुक्त गरी सञ्चालन गर्नुपर्ने बताएका छन्।
सरकारले आफ्ना मागबारे कुनै प्रतिक्रिया नदिएको भन्दै उनले अनशनको घोषणा गरेका हुन्। उनले स्वास्थ्य सेवा विस्तार, विगतका सम्झौता कार्यान्वयन र भ्रष्टाचार तथा अपराधका घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे