
काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन, भारत, युरोपेली सङ्घ (ईयू) लगायत ६० व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा नयाँ शुल्क लागू गरेको छ। शुक्रबारदेखि लागू भएको यो व्यवस्थाअनुसार आयात हुने वस्तुमा १० देखि १२.५ प्रतिशतसम्म कर लाग्नेछ।
अमेरिकी प्रशासनका अनुसार यो नीति सर्वोच्च अदालतको निर्णयपछि कानुनी रूपमा थप मजबुत बनाइएको हो। यसअघि अस्थायी रूपमा लागू गरिएको १० प्रतिशत विश्वव्यापी आयात शुल्कको अवधि सकिएपछि नयाँ व्यवस्था लागू गरिएको हो।
अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर बनाइएका वस्तु रोक्न व्यापारिक साझेदारहरूले पनि कडा नीति अपनाउनुपर्ने जनाएको छ। यही आधारमा क्यानाडा, भारत, बेलायत र ईयूबाट आउने धेरै सामानमा १० प्रतिशत शुल्क लाग्नेछ भने चीन, जापान, दक्षिण कोरिया लगायतका देशका केही वस्तुमा १२.५ प्रतिशतसम्म शुल्क तिर्नुपर्नेछ। केही पुराना व्यापार सम्झौताअन्तर्गतका वस्तु भने नयाँ शुल्कबाट छुट हुनेछन्।
नयाँ निर्णयको जापान र अस्ट्रेलियाले विरोध गरेका छन्। उता अमेरिकाले थप १६ देशमाथि पनि अनुसन्धान गरिरहेको छ, जसका आधारमा भविष्यमा थप शुल्क लगाउन सक्ने सम्भावना छ। विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनको यो कदमले अमेरिकी उद्योगलाई संरक्षण गर्ने, सरकारी राजस्व बढाउने र व्यापार वार्तामा अमेरिकाको दबाब बढाउने उद्देश्य राखेको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे