
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार यो सेवा नेपालमै पहिलोपटक सुरु गरिएको हो।
नागरिक एपमा आबद्ध १८ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। यसका लागि ग्राहकले बैंकको वेबसाइटमा उपलब्ध क्यूआर संकेत स्क्यान गरी खाता खोल्ने प्रक्रियामा प्रवेश गर्नुपर्नेछ।
बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले खाता खोल्न आवश्यक क्यूआर संकेत सम्बन्धित लिङ्कमार्फत प्राप्त गर्न सक्नेछन्। नागरिक एपमा आबद्ध व्यक्तिको पूर्वसहमति लिएर बैंकले खाताका लागि आवश्यक व्यक्तिगत विवरण एपबाटै सुरक्षित रूपमा प्राप्त गर्ने व्यवस्था मिलाएको जनाएको छ। यसबाट ग्राहकले व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै गोपनीयता र सूचनाको सुरक्षासमेत सुनिश्चित हुने बैंकको दाबी छ।
नागरिक एपमार्फत खाता खोलेपछि त्यसलाई सञ्चालनमा ल्याउन ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भई वा भिडियो केवाईसीमार्फत आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्नेछ।
बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरु गरिएको यस सेवाले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरेको छ। नागरिक एपसँगको सहकार्यबाट ग्राहकलाई सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ अनुभव प्रदान गर्न थप सहयोग पुग्ने बैंकको भनाइ छ।
आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ। यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्सअन्तर्गत सन् २०२२, २०२४ र २०२५ मा सम्मान प्राप्त गर्नुका साथै ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ लगायतका पुरस्कारसमेत प्राप्त गरेको जनाएको छ।
ग्लोबल आइएमई बैंकका अनुसार बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा सेवा दिँदै आएको छ। हाल बैंकका ३४२ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय गरी एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा रहेका छन्।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको जनाएको छ। बैंकले विप्रेषण सेवामार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको दाबी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे