
बुटवल । नबिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चौथो ‘आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ प्राप्त गरेका छन्।
भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इन्डियन चेम्बर अफ कमर्सले नयाँदिल्लीमा आयोजना गरेको चौथो ‘आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६’ मा नबिल बैंकले वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक’ तथा शाइन रेसुङ्गाले विकास बैंकतर्फ ‘बेस्ट डेभलपमेन्ट बैंक’को अवार्ड प्राप्त गरेको हो।
शाइन रेसुङ्गाले एउटै समारोहमा तीन विधामा सम्मान प्राप्त गरेको छ। बैंकले ‘बेस्ट डेभलपमेन्ट बैंक’सँगै ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ विधामा समेत अवार्ड जितेको जनाइएको छ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा राष्ट्रियस्तरको विकास बैंक हो। विकास बैंकतर्फ एकैसाथ तीन विधामा प्राप्त गरेको सम्मानलाई बैंकको वित्तीय कार्यसम्पादन, नाफा आर्जन क्षमता तथा व्यवसाय विस्तारमा हासिल गरेको प्रगतिका रूपमा हेरिएको छ।
अवार्डका लागि इन्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले बिम्स्टेक सदस्य राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका बैंक तथा वित्तीय संस्थाबाट आवेदन आह्वान गरेको थियो। विभिन्न देशका बैंक तथा वित्तीय संस्थाले अवार्डका विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए।
सहभागी संस्थाको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफा, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादनलगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ।
अवार्ड छनोट प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन प्राइस वाटरहाउस कूपर्सका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डल गठन गरिएको थियो। अन्तर्राष्ट्रिय वित्तीय मूल्याङ्कन तथा लेखापरीक्षण क्षेत्रमा उक्त संस्थाको सहभागिताले अवार्ड छनोट प्रक्रियाको विश्वसनीयता थप बलियो बनाएको आयोजकको दाबी छ।
सन् १९२५ मा स्थापना भएको इन्डियन चेम्बर अफ कमर्स भारतको अग्रणी राष्ट्रियस्तरको वाणिज्य मण्डलका रूपमा रहेको छ। दक्षिण एसियाली मुलुकबीच व्यापार, लगानी, वित्तीय सहकार्य तथा आर्थिक साझेदारी प्रवर्द्धनमा सक्रिय रहँदै आएको उक्त संस्थाले बैंकिङ तथा वित्तीय क्षेत्रका उत्कृष्ट संस्थालाई विभिन्न विधामा सम्मान गर्दै आएको छ।
नबिल बैंक र शाइन रेसुङ्गाले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानले नेपाली बैंकिङ तथा वित्तीय संस्थाको क्षेत्रीय स्तरमा पहिचान र विश्वसनीयता थप बलियो बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे