
काठमाडौँ । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार कञ्चनपुरका एक उपभोक्ताले जितेका छन्। विभागका अनुसार ती उपभोक्ताले कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको शिव कृष्ण जनरल स्टोरबाट साउन ७ गते २५० रुपैयाँ बराबरको सामान खरिद गरेका थिए। खरिदपछि प्राप्त भएको बिलको कुपन नम्बर ००७३१५२५४४९३ बम्पर उपहारका लागि छनोट भएको हो। यस उपहारको कुल रकम १० लाख रुपैयाँ भए पनि कानुनअनुसार २५ प्रतिशत कर काटिने भएकाले विजेताले हातमा ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित कार्यक्रममा विभागले उपहार योजनाको नतिजा सार्वजनिक गरेको हो। विभागका महानिर्देशक भीष्मराज भूसालले विजेताको गोपनीयता सुरक्षित राख्न उनको नाम सार्वजनिक नगरिएको जानकारी दिए।
यस्तै, साउन १ गतेदेखि १५ गतेसम्म भएका खरिदको आधारमा थप १५ जना उपभोक्ता पनि नगद उपहारका लागि छनोट भएका छन्। उनीहरूले कर कट्टीपछि जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। विभागले उनीहरूको नाम पनि गोपनीयता कायम राख्ने नीति अनुसार सार्वजनिक गरेको छैन।
यो योजना उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र व्यवसायीलाई सही रूपमा कारोबार अभिलेख राख्न प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे