
काठमाडौं । माछापुच्छ्रे बैंकले आन्तरिक राजस्व विभागद्वारा सञ्चालित करदाता प्रोत्साहन उपहार कार्यक्रममा ग्राहकको सहभागिता सहज बनाउन आफ्नो एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौं’ सुविधा सञ्चालनमा ल्याएको छ। बैंकका ग्राहकले डिजिटल भुक्तानीमार्फत योग्य कारोबार गरेपछि उपहार कार्यक्रममा आफ्नो सहभागिता तथा कारोबारको विवरण एपबाटै हेर्न सक्नेछन्।
सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीको प्रवर्द्धन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमअन्तर्गत नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बैंकको मोबाइल बैंकिङ एपमार्फत बैंक वा विद्युतीय भुक्तानी सेवाप्रदायकको व्यापारी संकेतमा डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबार स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुने व्यवस्था गरिएको छ। यसका लागि ग्राहकले छुट्टै दर्ता गर्नुपर्ने छैन।
माछापुच्छ्रे बैंकका ग्राहकले एम–स्मार्ट एपमा प्रवेश गरी ‘बिल जितौं’ मेनुमा गएर आफूले गरेका योग्य कारोबारको कुल संख्या, कारोबारको विस्तृत विवरण तथा पुरस्कार विजेता बनेको अवस्थामा त्यससम्बन्धी जानकारीसमेत एकै स्थानबाट हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित रूपमा भाग्य परीक्षण सञ्चालन गर्नेछ। जसअनुसार प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।
बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीका वस्तु तथा सेवा खरिद गर्दा व्यापारी संकेतमार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करको बिल लिन तथा प्राप्त बिल सुरक्षित राख्न आग्रह गरेको छ। साथै, एम–स्मार्ट एपको ‘बिल जितौं’ मेनुमार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न पनि बैंकले अनुरोध गरेको छ।
माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे