
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको जनाएको छ।
बैंकको सञ्चालक समितिको साउन २२ गते बसेको ४१९औँ बैठकले अग्राधिकार शेयरधनी र साधारण शेयरधनीका लागि फरक–फरक दरमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।
प्रस्तावअनुसार अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश प्रदान गरिनेछ। यस्तै, साधारण शेयरधनीका लागि १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरिएको छ।
बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि बैंकको २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
गत आर्थिक वर्षमा बैंकले बोनस शेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष भने बैंकले साधारण शेयरधनीका लागि १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार साउन २२ गते शुक्रबार साँझ ४ बजे केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धी प्रस्ताव पारित गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे