
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव र कालोबजारी बढेपछि प्रशासनले अनुगमन तथा निगरानीमा कडाइ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकाका ५५ वटा ग्यास डिपोमा सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित र पारदर्शी रूपमा ग्यास वितरण सुरु गरेको हो।
प्रहरीका अनुसार शनिबार मात्रै उपत्यकाका विभिन्न डिपोबाट ७ हजार ७३६ सिलिन्डर ग्यास वितरण गरिएको छ। त्यसमध्ये ३ हजार १८९ सिलिन्डर सर्वसाधारण उपभोक्ता र ३ हजार ३९ सिलिन्डर विभिन्न व्यावसायिक प्रतिष्ठानलाई उपलब्ध गराइएको थियो।
त्यस्तै, सुकेधारास्थित श्री ग्यास डिपोमार्फत होटल तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई २ हजार ८०० सिलिन्डर वितरण गरिएको प्रहरीले जनाएको छ। टोखास्थित जय कालिका ग्यास डिपोबाट भने २३४ सिलिन्डर सर्वसाधारण उपभोक्तालाई वितरण गरिएको थियो।
कालोबजारी नियन्त्रण गर्दै वास्तविक उपभोक्तासम्म ग्यासको पहुँच सुनिश्चित गर्न उपत्यकाका विभिन्न स्थानमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ।
ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक अभाव देखिएपछि उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू आउन थालेका थिए। त्यसपछि उद्योगमन्त्री गौरी यादवले विषयलाई गम्भीरतापूर्वक लिँदै गृहमन्त्री सुधन गुरुङसँग प्रभावकारी अनुगमन तथा निगरानीका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन्।
सोहीअनुसार आइतबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा प्रहरी परिचालन गरी निगरानी र अनुगमन थालिएको हो।
प्रहरीले ग्यासको मौज्दात, बिक्री वितरण र मूल्यसम्बन्धी विवरणमाथि निगरानी गरिरहेको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कानुनी कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ।
आम उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने तथा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे