
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बुधबार दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएका छन्। सरकार अल्पमतमा परेपछि अब के गर्ने भन्ने निर्णय गर्न बैठक बोलाइएको हो।
कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काका अनुसार बैठकमा मुख्यमन्त्री शाहले राजीनामा दिने विषयमा छलफल हुनेछ। उनले प्रदेश प्रमुखलाई सिधै राजीनामा दिने वा प्रदेशसभामा सम्बोधन गरेर राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुखसमक्ष जाने भन्ने विषयमा पनि छलफल हुने बताइन्।
बजेट निर्माण र कार्यान्वयनलाई लिएर विवाद भएपछि शाहले असार ३१ गते एमालेबाट सरकारमा सहभागी चार मन्त्रीलाई हटाएका थिए। त्यसपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह अल्पमतमा परेका हुन्।
समर्थन फिर्ता भएपछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि शाह त्यसको सट्टा राजीनामा दिने तयारीमा छन्।
केन्द्रमा नेकपा र एमालेबीच सत्ता सहकार्यको सहमति भएपछि सुदूरपश्चिममा पनि नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेको छ। शाहले सरकार जोगाउन नेकपाको समर्थन जुटाउने प्रयास गरे पनि सफल हुन सकेनन्।
शाह यसअघि पनि सुदूरपश्चिमको मुख्यमन्त्री भइसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे