
काठमाडौँ । अमेरिकी सञ्चारमाध्यमका अनुसार, इरानबाट हुन सक्ने सम्भावित क्षेप्यास्त्र हमलाको जोखिमका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टर्कीबाट फर्कने क्रममा गोप्य रूपमा अर्को सैन्य विमानमा सारिएको थियो।
‘वाशिंगटन पोस्ट’का अनुसार, ट्रम्पले टेलिभिजन क्यामेरासामु नियमित ‘एयर फोर्स वन’ विमानमा चढेको देखिए पनि केही समयपछि उनलाई अर्को विमानमा लगिएको थियो। उनलाई खानपानका सामान बोक्ने क्याटरिङ ट्रकको आडमा सैन्य विमानसम्म पुर्याइएको बताइएको छ। विमानमा रहेका पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीलाई समेत यसबारे जानकारी थिएन।
अमेरिकाको ‘सीबीएस न्युज’सँग कुरा गरेका अधिकारीहरूले इरानबाट उक्त विमानलाई क्षेप्यास्त्रले निशाना बनाउन सक्ने विश्वसनीय खतरा पत्ता लागेको बताएका छन्। यद्यपि, ह्वाइट हाउसले ट्रम्पलाई गोप्य रूपमा अर्को विमानमा सारिएको घटनाको आधिकारिक पुष्टि गरेको छैन।
ट्रम्प टर्कीमा भएको नेटो शिखर सम्मेलनमा सहभागी हुन कतारले उपलब्ध गराएको नयाँ बोइङ ७४७–८ विमानमा पुगेका थिए। फर्किँदा भने उनले पुरानो ‘एयर फोर्स वन’ प्रयोग गर्ने बताएका थिए।
तर ८ जुलाईमा अंकारा विमानस्थलमा सार्वजनिक रूपमा राष्ट्रपतीय विमानमा चढेपछि उनलाई गोप्य रूपमा सी–३२ए सैन्य विमानमा सारिएको बताइएको छ। यो विमान सामान्यतया अमेरिकी उपराष्ट्रपतिले प्रयोग गर्छन्। ट्रम्पले यसअघि आफू इरानको मुख्य निशानामा रहेको दाबी गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे