
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले सरकारले बन्द उद्योग खोल्नेसँगै अहिले सञ्चालनमा रहेका सरकारी उद्योगलाई पनि बन्द हुनबाट जोगाउनुपर्ने बताएका छन्।
घिसिङले सामाजिक सञ्जालमार्फत सरकारले हेटौंडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुग्नुको कारण खोज्नुपर्ने बताएका हुन्। उनका अनुसार निजी क्षेत्रले ठूलो लगानी गरेर सञ्चालन गरेका सिमेन्ट उद्योग नाफामा चलिरहेका बेला राम्रो चुनढुंगा खानी र ठूलो संरचना भएको सरकारी उद्योग घाटामा जानु गम्भीर विषय हो।
उनले केही वर्षअघि ह्वासिन सिमेन्टले विद्युत् प्रसारण लाइन नहुँदा डिजेल जेनेरेटरबाट उद्योग सञ्चालन गरेर पनि अन्य उद्योगको तुलनामा सस्तोमा सिमेन्ट बिक्री गरेको उदाहरण दिएका छन्। पछि विद्युत् पुगेपछि उद्योगले विद्युत्बाटै उत्पादन गर्न थालेको उनले उल्लेख गरेका छन्।
सरकारी संस्था पनि राम्रो व्यवस्थापन भए नाफामा चल्न सक्ने भन्दै घिसिङले नेपाल विद्युत् प्राधिकरणको उदाहरण दिएका छन्। उनका अनुसार प्राधिकरणले पछिल्ला १० वर्षदेखि लगातार अर्बौं रुपैयाँ नाफा कमाउँदै आएको छ।
त्यसैले सरकारले बन्द उद्योग खोल्ने मात्र नभई तिनलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना बनाउनुपर्ने र चलिरहेका उद्योगलाई पनि बन्द हुनबाट बचाएर नाफामा लैजान आवश्यक रहेको घिसिङको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे