
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग आबद्ध गरेको छ।
बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत मर्चेन्ट क्यूआरमा गरिने योग्य डिजिटल भुक्तानीलाई करदाता प्रोत्साहन उपहार कार्यक्रमसँग जोडेको हो। बैंकका ग्राहकले मोबाइल बैंकिङमार्फत मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा योग्य कारोबार स्वतः चिठ्ठा प्रक्रियामा समावेश हुने व्यवस्था गरिएको छ। यसका लागि ग्राहकले छुट्टै रूपमा कारोबार दर्ता वा विवरण अपलोड गर्नुपर्ने छैन।
बैंकका अनुसार ग्राहकले मोबाइल बैंकिङ एपबाट आफूले गरेका योग्य कारोबारको संख्या तथा विवरणसमेत हेर्न सक्नेछन्। यस व्यवस्थाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै ग्राहकलाई करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन थप सहज हुने बैंकको अपेक्षा छ।
आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित रूपमा चिठ्ठा सञ्चालन गर्ने व्यवस्था गरेको छ। सोअनुसार प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात् १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै, प्रत्येक १५ दिनमा एक जना बम्पर विजेता छनोट गरी कर कट्टीपश्चात् १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था रहेको छ।
बैंकले आफ्ना ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, सम्बन्धित कारोबारको प्यान वा मूल्य अभिवृद्धि करको बिल लिन तथा सुरक्षित राख्न आग्रह गरेको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत आफ्नो योग्य कारोबारको विवरण नियमित रूपमा जाँच गर्न पनि बैंकले ग्राहकलाई अनुरोध गरेको छ।
बैंकको यो पहलले डिजिटल भुक्तानीको प्रयोग बढाउनुका साथै औपचारिक कारोबार र कर प्रणालीमा सर्वसाधारणको सहभागिता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे