
काठमाडौं । माछापुच्छे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । पाँडेले २०८२ साउन २९ गते (१४ अगस्ट २०२६) देखि बैंकको नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार ग्रहण गर्नुभएको हो ।
बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गर्नुभएका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविक जनताको बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका वित्तीय संस्थामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ । बैंकिङ क्षेत्रमा उहाँले रणनीतिक व्यवस्थापन, व्यवसाय विस्तार तथा वित्तीय सेवाका विभिन्न आयाममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।
पाँडेले अंगुल्लोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीमा एमबीए तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा ‘अनर्स’सहित बीटेक उपाधि हासिल गर्नुभएको छ । उहाँसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार बैंकिङ, साना तथा मझौला उद्यम र खुद्रा बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालन, व्यापार वित्त र कारोबार बैंकिङलगायतका क्षेत्रमा गहिरो अनुभव रहेको छ ।
त्यसैगरी, उहाँले मर्जर तथा एक्विजिसन, संस्थागत एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास, दिगो तथा हरित बैंकिङलगायतका क्षेत्रमा समेत महत्वपूर्ण अनुभव हासिल गर्नुभएको छ । नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको अनुभवबाट बैंकको व्यवसाय विस्तार, सेवाप्रवाहमा सुधार तथा रणनीतिक लक्ष्य प्राप्तिमा योगदान पुग्ने अपेक्षा छ ।
पाँडेको नियुक्तिसँगै माछापुच्छे बैंकले उहाँको बैंकिङ अनुभव, वित्तीय विशेषज्ञता तथा नेतृत्व क्षमताबाट बैंकको समग्र व्यवसायिक विकास र संस्थागत रूपान्तरणमा सहयोग पुग्ने जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे