
काठमाडौँ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
कम्पनीले ब्रान्ड प्रवद्र्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले भुर्तेल र शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ।
नेपाल टेलिकमका अनुसार भुर्तेललाई गत २०८३ साउन २० गते आयोजित कार्यक्रममा ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो। शाहलाई भने आज अर्थात् २०८३ भदौ २५ गते आयोजित कार्यक्रममा सोही जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वसँगको सहकार्यले युवा पुस्तासहित आम नागरिकसँग नेपाल टेलिकमको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले ब्रान्ड एम्बेसडरहरूसँगको सहकार्यले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्नुका साथै सेवा–सुविधाको प्रचारप्रसार र व्यावसायिक प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताउनुभयो।
नवनियुक्त ब्रान्ड एम्बेसडर भुर्तेल र शाहले नेपाल टेलिकमजस्तो स्वदेशी लगानीको दूरसञ्चार कम्पनीसँग जोडिन पाउँदा आफूहरू उत्साहित र गौरवान्वित भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले कम्पनीप्रति आभार व्यक्त गर्दै ब्रान्ड प्रवद्र्धन तथा सेवासुविधाको प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल टेलिकमका अनुसार ब्रान्ड एम्बेसडरका रूपमा भुर्तेल र शाहले स्वदेश तथा विदेशमा रहेका ग्राहकसमक्ष कम्पनीले उपलब्ध गराउँदै आएका विभिन्न सेवा तथा सुविधाको प्रचारप्रसारमा भूमिका निर्वाह गर्नेछन्। साथै, कम्पनीको ब्रान्ड प्रवद्र्धन र बजारीकरणसम्बन्धी गतिविधिमा समेत उनीहरूको सहभागिता रहनेछ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे