
जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
भदौ १८ गते बिदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतो अपहरणमा परेका थिए। प्रहरीले गएराति बिदेह नगरपालिका–१ स्थित दशगजा क्षेत्रबाट बालकलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बालकलाई छाडेर भाग्न खोजिरहेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको हो।
बालक अपहरणमा परेको सूचना प्राप्त भएलगत्तै प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा बालकलाई राखिएको स्थान पहिचान गरी प्रहरी टोली त्यहाँ पुगेपछि पक्राउ परेकी महिलाले बालकलाई छाडेर भाग्न खोजेको प्रहरीले जनाएको छ।
उद्धार गरिएका बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ। पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिका तथा अपहरणको उद्देश्यबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे