
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्ने विषय तत्काल अघि बढाउन आग्रह गरेका हुन्।
आङ्देम्बेका अनुसार सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्ने विषय उठाइएको थियो। संसद्को रोस्ट्रमबाट समेत यस विषयमा सम्बोधन भइसकेको तीन साता बित्दा पनि समिति गठन नभएको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराएका हुन्।
उनले प्रस्तावित समिति सरकारको विरोध वा आलोचनाका लागि नभई विपद् व्यवस्थापनका कामलाई थप प्रभावकारी, व्यवस्थित र जवाफदेही बनाउन सहयोगी बन्ने बताए। विशेषगरी सरकारी राहत तथा उद्धारको पहुँच नपुगेका क्षेत्रमा आवश्यक सहयोग पुर्याउन समितिले समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।
कांग्रेसले एक साताभित्र उच्चस्तरीय संसदीय समिति गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेको आङ्देम्बेले जानकारी दिए। विपद्का कारण स्थगित भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई समेत पुनः सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराइएको उनले बताए।
यसैगरी, कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहदेखि केन्द्रसम्म सञ्चालन हुने संगठनात्मक गतिविधि तथा कार्यतालिकाबारे पनि सभामुखलाई औपचारिक जानकारी गराइएको आङ्देम्बेले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे