
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
भदौ ३१ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न साधारणसभाले अग्राधिकार शेयरधनीका लागि अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांशसमेत पारित गरेको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरणसम्बन्धी विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको हो।
त्यसैगरी, साधारणसभाले बाह्य लेखापरीक्षकका रूपमा एन.बि.एस.एम एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।
सभामा शेयरधनीहरूले बैंकको वित्तीय अवस्था, आगामी कार्यदिशा तथा लाभांश वितरणलगायत विषयमा राखेका जिज्ञासाको जवाफ अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।
शेयरधनीका जिज्ञासाको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई थप दिगो र सबल बनाउनेतर्फ प्रतिबद्ध भएर अघि बढ्ने बताएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे