प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार (५ घण्टा अघि)
अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल
598 Views
काठमाडौं ।भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा भारतीय पक्षसँग नेपालमा हालै आएको बाढीबाट भएको क्षति तथा विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनाका प्राथमिकताबारे छलफल गरेका छन्।भेटका क्रममा भारतीय पक्षले नेपालमा हालै आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई पुनःस्थापना तथा पुनर्निर्माणका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, उद्धार तथा राहत कार्यमा भारतले उपलब्ध गराउँदै आएको राहत सामग्री र प्राविधिक सहयोगलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको जनाइएको छ।अर्थमन्त्री वाग्लेले नेपाललाई सहयोग उपलब्ध गराएकोमा भारतप्रति आभार व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा प्राप्त सहयोगको प्रशंसा गरेका छन्। उनले बाढीपछिको पुनर्निर्माण र पुनःस्थापनाका लागि नेपालको प्राथमिकताबारे भारतीय पक्षलाई जानकारी गराएका थिए।भेटवार्तामा नेपाल–भारतबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो। व्यापार, लगानी तथा दुई देशका नागरिकबीचको आवतजावत र सम्बन्धलाई थप सहज बनाउन कनेक्टिभिटी विस्तार तथा अन्य आर्थिक पहल अघि बढाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको जनाइएको छ।दुवै पक्षले नेपाल र भारतबीचको व्यापार तथा आर्थिक साझेदारीलाई थप सुदृढ बनाउँदै द्विपक्षीय आर्थिक सम्बन्धका नयाँ सम्भावनालाई अघि बढाउने आवश्यकतामा जोड दिएका छन्।अर्थमन्त्री वाग्लेले अर्थमन्त्रीका रूपमा पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका हुन्। भेटवार्तामा भारतीय विदेशसचिव तथा आर्थिक मामिला विभागका सचिवसमेत सहभागी थिए।