
काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असोज २८ गते पोखरामा वार्षिक साधारणसभा गर्ने भएको छ। बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले साधारणसभा गर्ने मिति र स्थान तय गरेको हो।
साधारणसभाले बैंकले प्रस्ताव गरेको लाभांश वितरणलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ। त्यस्तै, बैंक तथा उसका सहायक कम्पनीहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणलगायतका प्रस्तावसमेत सभाबाट पारित गरिनेछ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट साधारण सेयरधनीका लागि कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश रहेको छ।
त्यसैगरी, अग्राधिकार सेयरधनीका लागि करसहित ८ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि मात्र वितरणको प्रक्रिया अघि बढ्नेछ।
माछापुच्छ्रे बैंकले विगतमा अधिकतम २१ दशमलव ८४ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो। गत आर्थिक वर्षमा भने बैंकले ८ प्रतिशत लाभांश वितरण गरेको थियो।
साधारणसभामा संस्थापक सेयरधनी समूहबाट तीन जना र सर्वसाधारण सेयरधनी समूहबाट एक जना सञ्चालकको बाँकी कार्यकालका लागि निर्वाचन गर्ने कार्यक्रमसमेत राखिएको छ।
साधारणसभा प्रयोजनका लागि बैंकले असोज १२ गते एक दिन सेयर दाखिला तथा खारेजी बन्द गर्ने भएको छ। असोज ११ गतेसम्म कायम रहेका सेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे