
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यका सर्भर रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएपछि सेयर कारोबार आजदेखि पुनः सञ्चालन हुने भएको छ।
डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्याका कारण सोमबार नेप्सेको नियमित सेयर कारोबार सञ्चालन हुन सकेको थिएन। असोज ४ गते बिहानदेखि नै डाटा हबमा समस्या देखिएपछि त्यसको समाधानका लागि सम्बन्धित पक्षले प्रयास गर्दै आएका थिए।
समस्या पूर्णरूपमा समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम देखिएपछि सोमबारको नियमित कारोबार स्थगित गरिएको थियो। प्राविधिक समस्या समाधान भएपछि भने आजदेखि नियमित कारोबार सञ्चालन गर्ने तयारी गरिएको हो।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत डाटा हबको समस्या तत्काल समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा क्षति पुग्न सक्ने जोखिम रहेको भन्दै कारोबार स्थगित गर्न आग्रह गरेको थियो। एसोसिएसनको आग्रहपछि नेप्सेले सोमबारको कारोबार स्थगित गर्ने निर्णय गरेको थियो।
यसैबीच, कारोबार स्थगित भएको घटनाप्रति नेपाल धितोपत्र बोर्डले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको अध्ययन तथा जाँचबुझ गर्न निर्देशन दिएको छ। बोर्डले प्राविधिक समस्या, कारोबार स्थगनको अवस्था तथा प्रणालीमा पर्न सक्ने प्रभावलगायत विषयमा अध्ययन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।
डाटा हबको प्राविधिक समस्या समाधान भएसँगै नेप्सेको नियमित कारोबार प्रणाली पुनः सञ्चालनमा आउने भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे