
ललितपुर । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु तथा सर्वसाधारणको सुविधाका लागि पाँच थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ ।
बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघको सहकार्यमा सर्वसाधारण तथा यात्रुको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले उक्त प्रतीक्षा–बेन्च स्थापना गरेको हो । सडकमा हिँड्ने यात्रु तथा स्थानीय सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले बेन्च राखिएको बैंकले जनाएको छ ।
बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतीक्षा–बेन्च स्थापना गरिएको थियो ।
कार्यक्रममा व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको प्रत्यक्ष उपयोगमा आउने प्रतीक्षा–बेन्च स्थापना गरेकोमा कामना सेवा विकास बैंकप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यसबाट यात्रु तथा स्थानीय सर्वसाधारणलाई दैनिक आवतजावतका क्रममा विश्राम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले आफ्ना सेवाग्राहीलाई मात्र नभई स्थानीय समुदाय तथा सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको बताउनुभयो । स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता सामाजिक कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिइने उहाँले बताउनुभयो ।
कार्यक्रममा बैंकका कर्मचारी तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका प्रतिनिधिको उपस्थिति रहेको थियो । बैंकले ग्राहक सेवाको विस्तारसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको आवश्यकता र सुविधालाई ध्यानमा राखेर सामाजिक तथा सेवामूलक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे