
डोल्पा । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज बिहीबार बिहान अवतरणका क्रममा धावनमार्गमै दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार एन–एजेएच कलसाइन रहेको जहाज अवतरण गर्ने क्रममा पछाडिपट्टिको दायाँतर्फको टायर फुस्किएपछि धावनमार्गमै दुर्घटनामा परेको हो। जहाज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा समस्या आएको प्रहरीले जनाएको छ।
उक्त जहाजमा ७ जना विदेशी नागरिकसहित १३ जना यात्रु सवार थिए। दुर्घटनामा जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिल गिरीले जानकारी दिएका छन्।
जहाज धावनमार्गमै रोकिएपछि जुफाल विमानस्थलको हवाई सेवा प्रभावित भएको छ। जहाज धावनमार्गबाट नहटाइएसम्म विमानस्थलमा अन्य जहाजको अवतरण तथा उडान सञ्चालन हुन नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे