
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्।
भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय समकक्षी मिश्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विषयमा विचार आदानप्रदान गरिनेछ।
मन्त्रालयका अनुसार मिश्रीको भ्रमणले नेपाल र भारतबीच रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। दुई देशबीचको सहकार्य र आपसी सम्बन्धका विभिन्न आयामबारे छलफल हुने कार्यक्रम छ।
नेपाल बसाइका क्रममा भारतीय विदेश सचिव मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्चस्तरीय नेपाली अधिकारी तथा विशिष्ट व्यक्तित्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
दुईदिने भ्रमण पूरा गरी मिश्री कात्तिक १९ गते नयाँदिल्ली फर्किनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे