
काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर बढ्न थालेको छ। उपत्यकाका विभिन्न स्थानमा वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ भने आगामी आइतबारसम्म प्रदूषणको अवस्था यस्तै रहने पूर्वानुमान गरिएको छ।
स्विट्जरल्यान्डस्थित वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ मापन गरिएको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ पुगेको थियो। शुक्रबार बिहान सवा ९ बजे सोही क्षेत्रमा १२७ मापन भएको थियो।
काठमाडौं महानगरपालिकाको वायु गुणस्तर निगरानी प्रणालीले पनि उपत्यकाका विभिन्न क्षेत्रमा प्रदूषणको स्तर अस्वस्थकर रहेको देखाएको छ। महानगरपालिकाका अनुसार स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, असन, कमलादी, चाबहिल र लैनचौरलगायत क्षेत्रमा वायु प्रदूषण बढेको छ।
आईक्यूएयरको पूर्वानुमानअनुसार आगामी आइतबारसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार हुने सम्भावना कम छ। सुक्खा मौसममा वर्षा कम हुने र हावामा धुलो तथा सूक्ष्म प्रदूषित कण लामो समयसम्म रहने भएकाले प्रदूषणको स्तर बढ्ने गरेको छ।
वायु प्रदूषण बढेपछि काठमाडौं महानगरपालिकाले प्रदूषण फैलाउने गतिविधि नगर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। विशेषगरी धुलो उडाउने निर्माण कार्य, फोहोर जलाउने तथा अन्य प्रदूषणजन्य गतिविधि नियन्त्रण गर्न आवश्यक देखिएको छ।
प्रदूषित हावाको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्ने भएकाले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति तथा दीर्घरोगी बढी जोखिममा रहने गर्छन्। यस्तो अवस्थामा अनावश्यक रूपमा बाहिर ननिस्कने, बाहिर निस्कनुपरे उपयुक्त मास्क प्रयोग गर्ने र प्रदूषण उच्च भएका क्षेत्रमा शारीरिक गतिविधि कम गर्ने सावधानी अपनाउन आवश्यक छ।
यसैबीच, छिमेकी भारतको राजधानी नयाँदिल्लीमा भने वायु प्रदूषणको अवस्था अझै गम्भीर बनेको छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शुक्रबार बिहान ८ बजे दिल्लीको वायु गुणस्तर सूचकांक ४२२ पुगेको छ। जवाहरलाल नेहरू स्टेडियम क्षेत्रमा ४२१ र नजफगढ क्षेत्रमा ४१४ एक्यूआई मापन गरिएको छ।
वायु गुणस्तर सूचकांक ४०१ देखि ५०० सम्म पुग्नुलाई गम्भीर प्रदूषणको अवस्था मानिन्छ। यस्तो स्तरको प्रदूषित हावाले स्वस्थ व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्न सक्छ भने पहिले नै स्वास्थ्य समस्या भएका व्यक्तिमा थप जोखिम निम्त्याउन सक्छ।
काठमाडौंमा प्रदूषण बढ्दै जानु र नयाँदिल्लीमा वायु गुणस्तर गम्भीर तहमा पुग्नुले दक्षिण एसियाली क्षेत्रमा सुक्खा मौसमसँगै वायु प्रदूषण नियन्त्रणको चुनौती थपिएको देखाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे