
काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीमाथि छलफल गर्दै सुनुवाइ प्रक्रिया अघि बढाएको हो।
समितिले सुरुमा प्रस्तावित न्यायाधीश जनक पाण्डेविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफल गरिरहेको छ। पाण्डेकी पत्नी माया पुरी पाण्डेसहित परिवारका अन्य सदस्यविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयलाई आधार बनाउँदै उजुरीकर्ताहरूले उनको नियुक्ति अनुमोदन नगर्न माग गरेका छन्।
उजुरीकर्ताहरूले परिवारका सदस्यविरुद्धको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले पाण्डेको नियुक्तिबारे समितिले गम्भीरतापूर्वक विचार गर्नुपर्ने धारणा राखेका छन्।
समितिको कार्यसूचीअनुसार पाण्डेविरुद्धको उजुरीमाथि छलफलपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई समितिमा उपस्थित गराएर सुनुवाइ गरिनेछ।
न्यायपरिषद्ले गत असोज २० गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी गरी चार जनाको नाम सिफारिस गरेको थियो।
न्यायपरिषद्को सिफारिसपछि संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको हो। समितिबाट सुनुवाइ सम्पन्न भएपछि प्रस्तावित न्यायाधीशहरूको नियुक्ति अनुमोदनसम्बन्धी निर्णय प्रक्रिया अघि बढ्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे