
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको भनाइको जवाफ दिएका छन्।
कांग्रेसको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति थापाले रास्वपाले चुनावमा मत मात्र नभई कांग्रेसबाट प्रशिक्षित भएका नेताहरू पनि पाएको बताएका थिए। त्यसको जवाफ दिँदै सिंहले आफूहरू कुनै कारणबिनै कांग्रेस छोडेर रास्वपामा गएको नभएको बताएका छन्।
सिंहका अनुसार कांग्रेसले पार्टीको नेतृत्व र जिम्मेवारी इमानदार तथा योग्य व्यक्तिको हातमा राख्न नसकेका कारण धेरै नेता बाहिरिन बाध्य भएका हुन्। उनले कांग्रेसमा ठेकेदार, भ्रष्टाचारमा मुछिएका र गलत छवि भएका व्यक्तिहरूको प्रभाव बढेको आरोप लगाए।
सिंहले कांग्रेसले आफूलाई लोकतन्त्रका लागि संघर्ष गरेको पार्टी भन्दै गर्व गर्ने गरे पनि अहिले पार्टी कमजोर अवस्थामा पुग्नुको जिम्मेवारी पनि नेतृत्वले लिनुपर्ने बताए। उनका अनुसार विगतको इतिहास र योगदानको चर्चा गरेर मात्र वर्तमानका कमजोरी ढाक्न सकिँदैन।
उनले लोकतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको पार्टीको नाममा राजनीति गर्ने, तर त्यही पार्टीलाई कमजोर बनाउने काम गर्नु ठूलो विरोधाभास भएको टिप्पणी गरे। साथै, कांग्रेस नेतृत्वले विगतको गौरवसँगै अहिलेको अवस्थाको जिम्मेवारी पनि स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे