
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन्। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रेग्मीले बैंकको विभिन्न महत्वपूर्ण विभाग तथा जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। उनले प्रमुख वित्तीय अधिकृत, प्रमुख मानव संसाधन अधिकृत, प्रमुख कर्जा अधिकृत तथा व्यापार वित्त प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध भएका उनले बैंकको विभिन्न तहमा रहेर वित्तीय व्यवस्थापन, मानव संसाधन, कर्जा तथा व्यापार वित्तलगायतका क्षेत्रमा जिम्मेवारी निर्वाह गर्दै आएका छन्।
उनी ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्।
रेग्मीले थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी तथा डेनमार्कस्थित कोपेनहेगन बिजनेस स्कुलबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
यसैबीच, आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा काम गर्दै आएको ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ।
त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्सअन्तर्गत सन् २०२२, २०२४ र २०२५ मा सम्मान प्राप्त गर्नुका साथै ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’लगायतका पुरस्कारसमेत प्राप्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे